पशुपक्षीको प्राण रक्षा गरौँ, पशुवलि नदिऔँ

     पशुपक्षी पनि हामीजस्तै ईश्वरका सन्तान हुन, यो संसार उनीहरूको पनि हो

 भर्खरै विजयादशमीको मूलतत्त्वलाई बिर्सेर पशुपक्षीको हत्या गर्ने पर्वको रूपमा परिणत हुँदैगएको दशैँको दशा र विकृत परम्पराको नाममा पशुपक्षीको रगतको आहाल सुक्न नपाउँदै बाराजिल्लामा गढीमाईको मेलामा विश्वकै सबैभन्दा बढी पशुपक्षीहरूलाई वलिको नाममा हत्या गर्ने दिन नजिकिदै छ। बाराको बरियापुरमा अवस्थित गढीमाईका उहिलेका कुनै एक पूजारीले सपनामा देवीले वलिदिन आदेश दिएको नाममा यो रक्तरञ्जित मेलाले स्थान पाएको भनी मन्दिरका पूजारी सुनाउने गर्छन्। वलिशव्दको वास्तविक अर्थ नजानेर निरीह पशुप्राणीलाई मारकाट गरेर एउटा भेँडाको पछि अर्को भेडा लागेको जस्तो धर्म कमाउने नाममा सचेतता र अज्ञानताको कारण पशुवलिको पछि लागेको  देखिदैछ।

वलिको साँचो अर्थ आफूमा भएको दुर्गुणहरू काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यहरूलाई सदाको लागि देवीदेवताको चरणमा अर्पण गरिदिएर आफूले आफैलाई जित्नु हो । वलिको अर्को अर्थ हो उपहार, समर्पण । तर यहाँ उल्टो भइरहेको छ। आफूसँग भएका दुर्गुणहरू आफूसँग जस्ता-तस्तै अनि पशुप्राणीहरूको वलिको नाममा हत्या गरेर मानिस धर्म कमाउन खोज्दछ कस्तो विडम्वना?

प्रत्येक पाँच-पाँच वर्षमा हुने गढीमाईको रक्तरञ्जितमेला जुन मङ्सिरशुक्ल सप्तमी र अष्टमी तिथिका दिन पर्छ (यस वर्ष मङ्सिरको ९ र १० गते पर्छ) सो दिन त्यहाँ  पशुपक्षीको रगतको खोलो बगाउन इच्छुकहरूको भीड लाग्छ। कमलो हृदय भएका साँचो धर्ममा विश्वास गर्नेहरूले हेर्न समेत नसकिने भयावह अवस्था त्यहाँ हुन्छ।त्यहाँ मानवता हुँदैन, मनुष्यता हुँदैन, हृदय हुँदैन, हाम्रो सनातन धर्मले सिकाएका दया, माया, करुणा केही बाँकी रहन्न त्यसवेला! यत्र-तत्र सर्वत्र पशु नै पशुको लासहरू, गिँडहरूले कतै नरक भनेको यही त होइन भन्ने भान पर्दछ।

मुसादेखि राङो, भेडा, बोका,परेवा, हाँसलगायतका पशुपक्षीलाई पशुवलिको नाममा, देवीलाई अर्पण गरेको नाममा त्यहाँ काटिन्छ, हत्या गरिन्छ, मारिन्छ। धर्मको नाममा यहाँसम्मको क्रुरता भन्नु पर्ने स्थित त्यहाँ जताततै देखिन्छ। जुन देशमा मन्त्रद्रष्टा ऋषि, महर्षि, विद्वान्, विदुषि, जगज्जननी माता जानकी, जीवनमुक्त महान् दार्शनिक जनक, शान्तिका अग्रदूत भगवान् गौतम बुध्दको जन्मभूमिमा धर्मको नाममा यस्तो धर्मान्धता! अन्धविश्वासको यस्तो पराकाष्टा! कस्तो विडम्वना?

कुनै जमानामा कसैले सपनामा पाएको आदेशको भरमा यत्रो रक्तरञ्जित कार्य हुँदा पनि हामी तैँचुप-मैचुपको अवस्थामा थियौँ र अझै छौँ। यस्तो कुकृत्य बुध्दि-विवेकले सम्पन्न मानिसको लागि कदापि सुहाँउने कुरा होइन।

निरीह पशुपक्षीको होइन हामीले आफ्ना दुर्गुणहरू ईश्वरको सामु वलि=उपहार दिनुपर्छ। कुनै वस्तुको वलि दिने हो भने लौका, घिरौला, मूला, नरिवल, गहत आदिको वलि सबैभन्दा सात्विक हुन्छ। यस्ता वस्तुको वलि गर्नाले कुनै पशुप्राणीले जीवनवरदान पाउँछ भने यस्तो पुण्यको कार्यलाई अगालौँ हत्या, हिंसाको सोचबाट टाढा रहौँ।

                                             पशुवलि निषेध चेतना अभियान

                                             गढीमाई मेला सचेतना समूह

                                                      काठमाडौँ, नेपाल